दफा १८
ट्रेडमार्कको दर्ता
: (१) दफा १७ बमोजिम  ट्रेडमार्कको दर्ताको निमित्त कसैको दरखास्त परेमा सो ट्रेडमार्कका सम्बन्धमा आवश्यक जाँचबुझ गरी कसैको दावी विरोध भए त्यस्तो दावी विरोध गर्न मनासिब मौका दिई कसैको दावी विरोध पर्न आएमा सो उपर समेत छानबिन गरी दर्ता गर्न उपयुक्त ठहरिएमा सो ट्रेडमार्क दरखास्तवालाको नाममा दर्ता गरी अनुसूची–२(ग)  बमोजिमको प्रमाणपत्र दिनुपर्छ ।
तर, त्यस्तो ट्रेडमार्क बाट कुनै व्यक्ति वा संस्थाको प्रतिष्ठामा धक्का पर्ने वा सर्वसाधारण जनताको  सदाचार वा नैतिकता वा राष्ट्रिय हितमा नराम्रो असर पर्ने वा अरू कसैको ट्रेडमार्कको ख्यातिमा  धक्का पर्ने सम्भावना छ भन्ने लागेमा वा सो ट्रेडमार्क पहिले अरू कसैको नाममा दर्ता भैसकेको  देखिएमा सो ट्रेडमार्क दर्ता गरिने छैन ।
(२) उपदफा (१) बमोजिमको प्रमाणपत्र प्राप्त गर्नको निमित्त ट्रेडमार्कको दर्ता दस्तुर बापत  दरखास्तवालाले अनुसूची–३(३) को (ख) मा तोकिएबमोजिमको दर्ता दस्तुर विभागमा बुझाउनु पर्छ ।
(३) उपदफा (१) को प्रतिबन्धात्मक वाक्यांशमा लेखिएको कुनै अवस्था छ भन्ने लागेमा  विभागले दर्ता भएको कुनै ट्रेडमार्कको दर्ता बदर गर्न सक्नेछ ।
तर सो बमोजिम कुनै ट्रेडमार्क बदर गर्नु भन्दा अगावै विभागले सो ट्रेडमार्कवालालाई सो  ट्रेडमार्क बदर हुनु नपर्ने कुनै कारण भए देखाउन मनासिब माफिकको मौका दिनु पर्छ ।